फाईल तस्बिर
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीको नेतृत्वमा सरकार भएका बेला देशमा ऐतिहासिक कामहरु भएको बताएका छन् । नेकपा माओवादी केन्द्र गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयन संगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायतका महत्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताएका हुन् ।
‘‘अरु सरकारमा भएका बेला देशमा लोडसेडिङ बढाउँदै लैजान्थ्यो, अध्यक्ष दाहालले भने, ‘‘एउटा ठूलो अन्धकारबाट उज्यालो तिर देशलाई लैजाने काम हामीले गर्यौ, त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो ।’’ उनले १८ घण्टासम्म लामो लोड सेडिङबाट जनता आजित भएका बेला तत्कालिन माओवादी नेतृत्वको सरकारले गरेको लिएको नीति र प्राधिकरणमा सहि नेतृत्वलाई जिम्मेवारी दिएका कारण देश लोडसेडिङबाट मुक्त बनेको बताए ।
अध्यक्ष दाहालले माओवादीले गरेका राम्रा कामलाई जनताको विचमा पुर्याउन हिचकिचाउन नहुनेभन्दै तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दावी गरे । ‘‘पहिलो पटक सरकारको नेतृत्वमा रहँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गर्यौ, उनले भने, ‘‘त्यो अहिले सम्पन्न हुने अवस्थामा छ यो माओवादीको देन हो, त्यसैपटक ३० हजारभन्दा कम ऋण हुने किसानको ऋण मुक्त गर्ने काम पनि हामी गर्यौ ।’’
उनले तेस्रो पटक सरकार रहदा सुशासन र भ्रष्टाचार बिरुद्ध इतिहासमै पहिलो पटक रेर्कड हुने किसिमले भ्रष्टाचारीहरुमाथि कारवाही प्रक्रिया माओवादीको नेतृत्वको सरकारले गरेको बताए । अध्यक्ष दाहालले भने ‘‘सामाजिक न्याय चाहे नागरिकताको बिषय होस्, चाहे मिटर व्याजीको समस्या समाधानको बिषय होस् चाहे सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपाली युवाहरु र देशभित्रका पनि श्रमिकहरुलाई आवद्ध गर्ने कुरा होस् त्यो हाम्रो नेतृत्वको सरकारले गर्यो ।’’
माओवादी आफ्नो बर्गसंग जोडिनुपर्ने सवालमा केही कमजोरी भएको स्विकार पार्टीले गरिसकेको भन्दै उनले अव फेरि जनतासंग जोडिएर देश, जनता र लोकतन्त्रका बिरुद्ध हुने सवैखालका षडयन्त्रलाई चुनौती दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।


