गाेरखा । आज बिहानै चितवनको भरतपुर महानगरपालिका-२९ काे सत्र किलोमा बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका सबैकाे पहिचान खुलेको छ ।
बिहान ३ बजे नारायणगढतर्फ गुडिरहेको विद्युतीय माइक्रोबस र मुग्लिनतर्फ गुडिरहेको बस ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी भेषराज रिजालका अनुसार उक्त दुर्घटनामा परी माइक्रो चालक चितवनको खैरहनी नगरपालिका–४ का अनोज अधिकारी, गोरखाको आरुघाट गाउँपालिका–५ का राजबहादुर गुरुङ, भारत घर भई पोखरा बस्ने राजकुमार साह, नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–४ का सन्तोष भुसाल र सबिना भुसाल रहेका छन् ।
मृतकका आफन्तहरूले अस्पताल पुगेर शव पहिचान गरेकाे उनले बताए । माइक्रोमा रहेका एक जनाको अवस्था गम्भीर रहेको सूचना अधिकारी रिजालले जानकारी दिए ।
बस चालक सूर्य विक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।




















