फाईल तस्बिर
गोरखा । दशैंकाे आठाैं दिन आज । तिथी अनुसार आज फुलपाती परेकाे छ । यसै अवशरमा गोरखा दरबारस्थित दसैँघरमा परम्परागत बिधिपूर्वक फूलपाती भित्र्याइएको छ ।
साँझको शुभसाइतमा हर्ष बढाइँकासाथ गोरखा दरबारमा फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले बताए ।
अपरान्ह्र गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लिएर आएको फूलपाती दरबारको दसैँघरमा भित्र्याइएको हाे ।
गोरखा दरबारका सुसारेले जंगलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दसैँघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयबासीलगायतको टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए ।
जंगलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रुपमा दसैँघरमा भित्र्याउने चलन प्राचित कालदेखी चलिआएको छ ।
त्यस्तै फूलपाती भित्र्याउनु पूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरुले मंङ्गल गीत, र मालश्री राग गाउँदै बन्दुकेहरुले हर्ष बढाइँ गर्दै र भारवाहकहरु फुलपानी पर्सने सिडीसम्म पुगेका थिए । गोरखा दरबारको सिडीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको मूलपुरोहित भट्टराईले बताए ।
गोरखा दरबारमा हरेक बर्ष रवानबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा दरबारको दसैँघरमा फूलपाती भित्र्याउने गरिदैँ आएको छ । यसअघि आज विहान गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारमा फूलपाती पठाइएको थियो ।
गाेरखा दरर्बारमा फुलपाती भित्राए पछी मात्र देशैभरका सर्व साधारणहरुले आफ्नाे घरकाे पूजा काेठामा फुलपाती भित्राउने चलन रही आएकाे छ ।






