गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीमा गएराती १ जना युवतीको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।
बुधबार मध्यरात १२ बजे अपरिचित ब्यत्तीहरुले २८ बर्षिया रश्मी कुमाललाई धारिलो हतियार प्रहार गर्दा उनी गंभिर घाईते भएकी थिइन । उनको तनहुँको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान २ बजे ज्यान गएको हो ।
कुमाल सुतिरहेको अवस्थामा उनकै आफ्नै घर भित्र धारिलो हतियारले आक्रमण भएको सूचना अधिकारी कार्कीले बताए । ज्यान गुमाएकी कुमालको दाहिने गर्दन र बाँया तर्फको कानको भाग मुनी र टाँउकोमा धारिलो हतियार प्रहार भएको पनि उनले जानकारी दिए ।
हत्याराको ब्यापक रुपमा खोजी भएको र घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गोरखा र ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
कुमालको शव आवश्यक कानूनी प्रकृया पुर्याएर उनका आफन्तलाई जिम्मा लगाएको पनि प्रहरीले जानकारी दिएको छ । उनका श्रीमान भने बैदेशिक रोजगारीको शिलसिलामा विदेशमा रहेको जानकारी प्राप्त हुन आएको छ ।


