गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहिन बालबालिकालाई लत्ताकपडा वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क छात्रावासमा बसेर पठनपाठन गर्दै आएका अभिभावकविहिन बालबालिकालाई दसैंका लागि नयाँ कपडा खरिद गरी वितरण गरिएको हो ।
‘‘गाउँघरमा दसैंमा नयाँ कपडा लगाउने, मिठोमसिनो खाने र चाढवाड धुमधामका साथ मनाउने प्रचलन पुरानै हो, गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले भने, ‘‘नयाँ कपडा नलगाएसम्म बालबालिकालाई दसैं आएको अनुभूती पनि हुँदैन, अभिभावकविहिन बालबालिकालाई दसैंमा आफ्ना अभिभावक नभएको अनुभूती नहोस् भनेर नयाँ लत्ताकपडा वितरण गरिएको हो ।’’
पालिका भित्रका अभिभावकविहिन बालबालिकाकालाई चालु शैक्षिक सत्रदेखि वडा नम्बर ६ को बाह्रकोटमा निःशुल्क रुपमा खान, बस्न र पठनपाठनको सुविधासहित मनास्लु छात्राबास सञ्चालन गर्दै आएको छ । सोही छात्राबासमा बस्दै आएका १९ जना अभिभावकविहिन बालबालिकालाई गाउँपालिकाले नयाँ कपडा वितरण गरेको जनाएको छ ।
बच्चाबच्तीहरुलाई उनीहरुकै रोजाई अनुसार टिर्सट, पाइन्ट, ज्याकेट, चप्पल, कुर्ता सुरुवाल खरीद गरेर बितरण गरीएको छ । नयाँ कपडा पाएपछी भने उनीहरुमा खुशी भएको देखिन्थे ।
उक्त छात्राबासमा बस्ने बालबालिकालाई गाउँपालिकाले स्थानीय सूर्यज्वोती माध्यामिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । गाउँपालिकाले अभिभावकविहिन बालबालिकालाई शिक्षाबाट बन्चित हुन नदिन नीति नै बनाएर निशुल्क छात्राबास कार्यक्रम लागू गर्दै आएको छ ।
कार्यक्रम सञ्चालन गर्नका गाउँपालिकाले चालु आर्थिक बर्षका लागि १२ लाख रुपैयाँ बिनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको छ ।


