गोरखा । गोरखामा यो बर्ष डेङगु र स्क्रब टाईफसको महामारी नै देखिएको छ । बिगत बर्षहरुमा बर्षभरी हुने संक्रमण यो बर्ष साढे २ महिनामा नै दोब्बरभन्दा बढी देखिएको छ ।
संक्रमण देखिएका मध्य गोरखा नगरपालिकामा सबैभन्दा बढी देखिएको स्वास्थ्य कार्यालय गोरखाका माहामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालले जानकारी दिए । उनका अनुसार यो बर्षको पहिलो साउन यता असोजको आधाआधी मै जिल्लाभर दुवै रोगबाट १ हजार २१५ जना संक्रमीत भएका छन् ।
कुल संख्याको आधाभन्दा बढी संक्रमीत गोरखा नगरपालिका भित्रका छन् । जिल्लाभर हाल डेङगुका ८०४ जना संक्रमीत देखिएकोमा गोरखा नगरपालिकामा मात्रै ६४२ जनामा देखिएको उनले बताए ।
स्क्रब टाईफसका कुल ४११ जना मध्य नगर क्षेत्रभित्र १६९ जनामा संक्रमण देखिएको अर्यालले बताए ।
उनका अनुसार जिल्लाको ११ स्थानिय तहमध्य धार्चे गाउँपालिका बाहेक ९ स्थानिय तहमा डेङगु र ७ स्थानिय तहमा स्क्रब टाईफस देखिएको छ ।
कार्यालयको तथ्यांक अनुसार गोरखा नगरपालिकामा डेङगु र स्क्रब टाईफसका क्रमश. ६४२ र १६९ जना गरी ८११ जनामा देखिएको छ ।
तथ्यांक अनुसार आरुघाट गाउँपालिकामा ६५ र १६५ गरी कुल २३० जना, पालुङटार नगरपालिकामा ६० र ५६ गरी कुल १२५ जना र गण्डकी गाउँपालिकामा १५ र २ जना गरी कुल १७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तैगरी, शहिद लखन गाउँपालिकामा १२ र ३ गरी १५ जना, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा डेङगुका ३–३ जनागरी ६ जना, भिमसेन थापा गाउँपालिकामा २ र ८ गरी १० जनामा संक्रमण देखिएको छ ।
उता उत्तरी गोरखाको चुम नुब्रीमा २ जनामा डेङगु स्रक्रमण देखिएको छ भने सिरानचोकमा ८ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको छ ।
कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्ष ०७९–०८० मा गोरखा जिल्ला भित्र ५२९ जनामा डेङगु र १०८ जनामा स्क्रब टाईफस देखिएको थियो भने गएको आर्थिक बर्ष ०८०–०८१ मा डेङगुका ४८८ जना र स्क्रब टाईफसका १६३ जना संक्रमीत देखिएको थियो ।
यो बर्ष गोरखा नगरपालिका संग सिमाना जोडिएको तनहुँको आँबुखैरेनी गाउँपालिकामा देशैभरमा सबैभन्दा बढी संक्रमण देखिएको र त्यही संक्रमण गोरखामा पनि देखिएको अनुमान गरीएको छ ।
संक्रमण दर उच्च हुदा पनि स्थानिय तहले यसबाट जोगिन कुनै पनि जनचेतना तथा सरसफाईका कार्यक्रमलाई तिब्रताका साथ अगाडी नलगेकोमा सरोकार वालाहरुले रोष प्रकट गरेका छन् ।
सामान्यतया स्क्रब टाईफस बर्षभरी देखिएता पनि डेङगुको संक्रमण भने कार्तिक मसान्त लगत्तै मन्थर भएर जाने चिकित्सकहरु बताउछन् ।





















