गोरखा । गोरखा बजारमा चाडपर्वलाई लक्षित गरी प्रहरीले सदरमुकामकाे २ ठाउँमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
दसैँ, तिहार, छठलगायतका पर्वका बेला सवारी साधनमा यात्रा गर्ने यात्रुलाई पर्नसक्ने समस्याको सहजीकरणका लागि हरमटारी चोक र बाह्रकिलो बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए ।
दसैँ, तिहारजस्ता ठूला चाडपर्वका बेला यात्रुहरुको आवातजावत बढी हुने भएकाले लुटपाटका घटना हुनसक्ने, यात्रु ठगिन सक्ने वा सवारी साधनले बढी भाडा लिनसक्ने भएकाले सहज रुपमा प्रहरीलाई जानकारी गराउन तथा समस्या समाधानका लागि समन्वय गर्न सजिलो होस् भन्ने उद्देस्यले सहायता कक्ष सञ्चालनमा ल्याएकाे हाे ।
‘‘कतिपय वेला यात्रुले आवातजावतका लागि सवारी साधन नपाउने, तोकिएकोभन्दा महंगो भाडा तिर्नुपर्ने बाध्यता समेत हुनसक्छ् शर्माले भने, ‘‘त्यस्ताखालका समस्या पर्दा यात्रुले सहायता कक्षामा आएर सजिलै जानकारी दिनपनि सक्छन् र त्यहीँबाट समस्याको समाधान पनि गर्न सकिन्छ ।’’
यात्रुले यात्राका क्रममा सामान छुटेमा, हराएमा, टिकट बुकिङ गरी सवारी साधनले छोडेर गएमा वा सार्वजनिक सवारी साधनमा यात्रा गर्दा कोहीकसैबाट दुरब्यर्वहार भएमा समेत सहायता कक्षमा खबर गर्न सक्नेछन् । सहायता कक्षमा नियमित रुपमा जनपथ प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने उनले जानकारी दिए ।
त्यस्तै सहायता कक्षबाट चाडपर्वका बेला सवारी साधनको छतमा बसेर यात्रा गर्दा, जथाभावी बाटो काट्दा हुनसक्ने सम्भावित दुर्घटना रोक्नका लागि सचेतना प्रदान गर्ने र सवारी चालकले मादक पर्दाथ सेवन गरेर सवारी तत्काल कारवाही गर्ने प्रहरी निरीक्षक शर्माले बताए ।




















