फाईल तस्बिर
गोरखा । गोरखाको गोरखा दरर्बारको दशै घरहरुमा आज बिधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाका दिन बिहान ९ बजेर १६ मिनेटको शुभसाइतमा दरर्बार र वरपरगरी ३ पाथीको जमरा राखिएको मूल पुजारी शारदा प्रसाद भट्टराईले बताए ।
उनका अनुसार गोरखा दरर्बार भित्रको गर्भ गृह (पूजा कोठा)मा ४ माना, गोरखनाथ मन्दिर भित्र ४ माना, दरर्बार भित्रको जमरा कोठामा १ पाथी तथा उपल्लो र तल्लो कोटमा १–१ मानाको जमरा राखिएको छ । त्यस बाहेक पनि दरर्वार संग जोडिएका केही अन्य स्थानका पिठहरुमा पनि जमरा राखिएको छ ।
परम्परा अनुसार बिहान सवेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्याालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा जमरा राखिएको उनले बताए ।
गोरखाको गोरखा दरर्बारमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले आ–आफ्नो घरको पूजा कोठामा जमरा राख्ने धार्मिक मान्यता रहदै आएको छ ।
बडादशैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ परापूर्व कालदेखी जमरा राख्दै आउने गरीएको छ ।
आजैदेखी गोरखा दरर्बार र यसका पिठहरुमा सरकारी बलि दिने गरीन्छ । आज गोरखा दरर्बार संगै रहेको कालिका मन्दिरको मुल गेटमा कालो बोकाको बलि दिइने छ । सरकारी बली पूर्णीमाका दिनसम्म जारी रहन्छ ।



