गोरखा । जापानिज ईन्सेफ्लाईटिस भएको गोरखा सदरमुकामको १ जना महिलाको ज्यान गएको छ । उनको उपचारको क्रममा चितवनमा ज्यान गएको हो ।
गोरखा नगरपालिका–१२ स्थित दशकिलो घर भएका राधिका कुमाललको उपचारको क्रममा ज्यान गएको उनका आफन्तले जानकारी दिएको छ ।
भाद्र १६ गतेदेखी बिरामी परेका कुमाल २७ गते चेकजाँच क्रममा जापानिज ईन्सेफ्लाईटिस पु्ष्टी भएको थियो ।
उनको गोरखामा उपचार हुन नसकेपछी चितवनको पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । कुमालको उपचारकै क्रममा आज बिहान ७ः३० बजे ज्यान गएको स्थानिय गणेश बानियाँले जानकारी दिए ।
कुमाल लायन्स क्लब अफ तारानगरको प्रथम उपाध्यक्ष, आदीबासी जनजाती महिला महासंघ जिल्ला समन्वय परिषद गोरखाको सचिव तथा नेकपा माओवादी केन्द्र गोरखा नगरपालिका नगर कमिटी सदस्य समेत हुन ।
उनी आबद्व सबै संघ संस्थाहरुले विज्ञप्ती निकालेर संस्थालाई अपुर्णिय क्षती पुगेको भन्दै श्रद्वाञ्जली ब्यत्त गरेका छन् ।
यो रोग कसरी सर्छ र बच्ने उपाय के हाे ?
जापानी इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गर्छ । यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिन्छन् । उपचारपछि निको भए पनि पक्षाघातको समस्या रहन सक्छ ।
मनसुनको समयमा यो रोगको जोखिम बढी हुने हुन्छ । वर्षायाममा बढी आद्रता र बाढीका कारण सरसफाइमा कमी आउँदा लामखुट्टेको वृद्धि हुन्छ । जसले संक्रमणको जोखिम बढाउँछ ।
जापानी इन्सेफलाइटिस मुख्यतया सुँगुर र चराहरूमा पाइने भाइरसबाट हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले यी जनावरलाई टोकेर मानिसमा सार्छ । यो रोगले मस्तिष्कमा असर गर्छ । उच्च ज्वरो, टाउको दुखाइ, जीउ काम्ने र गम्भीर अवस्थामा कोमासमेत हुन सक्छ ।
स्वास्थ्य विशेषज्ञहरूले यो रोगको कुनै निश्चित उपचार नभएको तर लक्षण अनुसारको उपचार गरिने बताएका छन् । रोग नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ ।
चिकित्सकका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने,घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन ।
भदौंसम्म संक्रमणको जोखिम उच्च रहने गर्दछ । चिकित्सकहरुले जापानी इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।





















