गोरखा । गोरखा बजारमा निर्माणाधिन मानव सेवा आश्रमको भवनको सहयोगार्थ राजधानीमा भएको एक कार्यक्रममा करिब ४२ लाख रुपैयाँ संकलन भएको छ ।
गोरखाबाट गएर विभिन्न पेशा अपनाएका सर्व साधारणहरुबाट भवन निर्माणको लागि ४१ लाख २४ हजार ७१७ रुपैयाँ संकलन भएको मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
गएको शनिबार राजधानीको रानिबनमा रहेको आश्रममा भएको कार्यक्रममा काँभ्रे जिल्ला धुलिखेल निवासी हरिगोल रन्जिकार, गोरखा जिल्ला घरभई हाल राजधानी बस्दै आएका बावुराम अधिकारी र ईन्द्रकुमारी अधिकारी, जोगेनबाबु श्रेष्ठ र दाजुभाई, हरि बाबु मास्के एवं परिवार, सृजनासिंह तथा परिवार गरी ५ जनाबाट भवनको कोठा निर्माणका लागि जनही ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण भएको पनि अध्यक्ष अधिकारीले बताए ।
त्यसका साथै सोही कार्यक्रममा पदम गुरुङले मानवसेवा आश्रम गोरखाको सेवा सहजताका लागि ५ बर्षको लागि बार्षिक १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको थियो ।
रानिबनकाे मानव सेवा आश्रममा आश्रितहरु संग भेट गरेर सम्मान स्विकार्दै पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ
त्यस बाहेक पनि नवराज अमगाईले २ लाख ६५ हजार, विपिन मल्ल र रामगोपाल श्रेष्ठले जनही १ लाख ५१ हजार १११ र रुद्र बगालेले १ लाख १ हजार १११ रुपैया भवननिर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको आश्रमले जानकारी दिएको छ ।
हाल गोरखा नगरपालिका–६ को खोपीधारामा भाँडाको घरमा सञ्चालित आश्रममा विभिन्न जिल्लाबाट उद्वार गरी ल्याईएका बालगोपालहरु बस्ने गरेका छन् ।
गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा शाखाको भवननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब ४ करोड लगानी भइसकेको उक्त भवनलाई पुर्णता दिन थप १ करोड आवश्यक पर्ने भवन निर्माण समितिका संयोजक एवं अभिभावक परिवारका सह–संयोजक ईश्वरकाजी मास्केले बताए ।
कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवसेवा आश्रमको स्थापना, सेवा विस्तार र १२ बर्षको मुख्य उपलब्धीहरु सहित गोरखामा भइरहेको सेवाबारे उपस्थित सबैलाई जानकारी गराएका थिए ।
मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष अधिकारीज्यूको अध्यक्षतामा भएको कार्यक्रममा मानवसेवा आश्रमका अभिभावक एवं नेपाल सरकारका पुर्व उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
मानवसेवा आश्रमले २०८२ सालभित्र खुला आकाशमुनी सडकपेटी र सार्वजनिक स्थलहरुमा कसैलेपनि कष्टपूर्ण जिवन निर्वाह गर्न नपरोस भन्ने उद्वेश्य सहित देशब्यापी रुपमा सेवा प्रवाह गर्दै आइरहेको विशुद्ध सामाजिक संस्था हो ।





