गोरखा । गोरखा बजारमा श्रृखला बद्व रुपमा महिलाको गलाबाट सिक्री लुटेको आरोपमा पक्राउ परेका २ जनालाई गोरखा प्रहरीले सार्वजनिक गरेको छ ।
लुटपाट गरेको आरोपमा गएको शनिबार पक्राउ परेका गोरखा जिल्ला शहिद लखन गाउँपालिका–९ नामजुङका ३८ बर्षिय सुनिल बिक र ललितपुर जिल्ला ललिपुर उपमहानगरपालिका–१६ बस्ने ३७ बर्षका शैलेस ताम्राकारलाई प्रहरीले उनीहरुको तस्बिर सार्वजनिक गरेको हो ।
विभिन्न समयमा गोरखा बजारको विभिन्न स्थानमा महिलाको गलाबाट नै सिक्री लुटपाट गरी फरार रहेको उनीहरु पछिल्लो समय असोज ५ गते दिउसो पख पुनः गोरखा बजारमा देखिएपछी बिशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पिछागरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
गएको शनिबार गोरखा बजारको धारापानी क्षेत्रमा देखिएका उनीहरुलाई सूचनाको आधारमा प्रहरीले पिछा गर्ने क्रममा लक्ष्मीबजारबाट नियन्त्रणमा लिएको उनले बताए ।
पक्राउ परेका दुवैले महिलाको गलाबाट सिक्री लुटपाट गरेको प्रारम्भीक अनुसन्धानमा स्विकार गरेको पनि उनले जानकारी दिए ।
आरोपितहरुले गएको साउन २३ गते गोरखा नगरपालिका–५ को रोहटेपानी क्षेत्रमा ७५ बर्षिया रत्नकुमारी मग्रती र भाद्र २४ गते गोरखा नगरपालिका–६ को काडाँघाँरी क्षेत्रबाट ५९ बर्षिया दाउरीमायाँ राना मगरको गलाबाट २–२ तोलाको सुनको सिक्री लुटपाट गरेका थिए ।
पक्राउ परेकाहरुबाट चोरी संलग्न रहेको बा. ४५ प ५४९३ नम्बरको हिरो कम्पनीको प्लेजर स्कुटी समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुवै जना बिरुद्व प्रहरीले चोरी सम्बन्धी कसूर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको सूचना अधिकारी श्रेष्ठले बताए ।
लुटपाटमा अन्य ब्यत्ती पनि संलग्न र अन्य स्थानमा पनि त्यस्तो कार्य गरेको बारेमा प्रहरीले अनुसन्धान जारी राखेको पनि उनले जानकारी दिएकाे छ ।


