गोरखा । पछिल्लो समय गोरखा जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरुको संख्यामा उल्लेखनिय रुपमा बृद्वि भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउन र भाद्र महिनाको अन्तिमसम्ममा दुवै रोगका ७१५ जना संक्रमित भेटिएको माहामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालले जानकारी दिए ।
दुवै रोगका संक्रमितहरु जिल्लाको गोरखा नगरपालिकामा धेरै देखिएको छ । गोरखा नगरपालिका भित्र डेंगुका ३०२ जना र स्क्रब टाइफसका ९८ जना बिरामी गरी कुल ४०० जनामा देखिएको छ ।
कार्यालयको तथ्यांकलाई हेर्दा यो जिल्ला भरीको संक्रमितको संख्याको ५० प्रतिशत भन्दा बढी गोरखा नगरपालिकामा देखिएको छ ।
त्यस्तै आरुघाट गाउँपालिकामा ५६ जना डेंगु र १२० जना स्क्रब टाइफसका बिरामी फेला परेका छन भने पालुङटार नगरपालिकामा ५१ जनामा डेंगु र ४३ जनामा स्क्रब टाइफस देखिएको टेक्निसियन अर्यालले जानकारी दिए ।
संक्रमण देखिएको शहिद लखन गाउँपालिकामा १२ जनामा डेंगु र ३ जनामा स्क्रब टाइफस र भिमसेन थापा गाउँपालिकामा २ जनामा डेंगु र ५ जनामा स्क्रब टाइफस देखिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तैगरी, गण्डकी गाउँपालिकामा ८ जना, अजिरकोट र बारपाक सुलिकोटमा ३–३ जना र चुम नुब्रीमा १ जनामा डेंगुको संक्रमण देखिएको छ ।
उता सिरानचोक गाउँपालिकामा भने ८ जनामा स्क्रब टाइफस देखिएको कार्यालयले जनाएको छ ।
११ स्थानिय तह रहेको गोरखामा हालसम्म धार्चे गाउँपालिकामा भने कुनै पनि संक्रमण नदेखिएको टेक्निसियन अर्यालले बताए ।
चुमनुब्रीमा पहिलो पटक देखियो डेंगुका बिरामी
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पहिलो पटक डेंगुको संक्रमण देखिएको छ । डेंगुको संक्रमण देखिएका ब्यत्ती शिक्षक भएको र उनी गोरखा सदरमुकाम आउदैमा संक्रमित भएर चुमनुब्री पुगेको माहामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालले जानकारी बताए ।
गोरखा सदरमुकामबाट हालै अध्यापन गराउन बिद्यालय पुगेका शिक्षकलाई उच्च जरो देखिए पछि परिक्षणका क्रममा डेंगुको संक्रमण देखिएको उनले बताए ।
उच्च हिमाली क्षेत्रपर्ने उक्त स्थानमा यो भन्दा अगाडीसम्म दुवै रोगका बिरामीहरु फेला नपरेको पनि अर्यालले जानकारी दिए ।



