गोरखा । गोरखाका उत्तरी क्षेत्रमा रहेको मनास्लु पदमार्ग जाने जो कोहीले पनि अब देखी शुल्क तिनुपर्ने भएको छ । संरक्षण क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाले पदयात्रा जाने जो कोही संग पनि शुल्क उठाउने निर्णय गरेसंगै त्यहाँ पुग्ने स्वादेशी तथा विदेशी पर्यटकले थप शुल्क तिनुपर्ने भएको हो ।
भदौं २० गते बिहीबार भएको बैठकले असोज १ गतेदेखी लागु हुने गरी स्वदेशी पर्यटक संग २०० र विदेशी पर्यटक संग १ हजारका दरले पदयात्रा शुल्क उठाउने निर्णय भएको पालिकाले जनाएको छ ।
चुमनुब्री गाउँकार्यपालिका केही दिन अगाडी बसेको बैठकले गाउँपालिकाको आर्थिक ऐन (२०८१) बमोजिम मनास्लु संरक्षण क्षेत्र भित्र प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकबाट पदयात्रा शुल्क लिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘‘पदयात्रा शुल्क उठाउने बिषयमा पालिका भित्रका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासंग पनि गाउँपालिकाले आवश्यक छलफल गरीसकेको छ, उनले भने, ‘‘सवैपक्षबिच पदयात्रा शुल्क उठाउने सन्दर्भमा सर्वसम्मत निर्णय भएको छ ।’’
गाउँकार्यपालिका बैठक, चुमनुब्री गाउँपालिका आर्थिक ऐन (२०८१) एवं सर्वपक्षीय निर्णय बमोजिम गाउँपालिकाले पदयात्रा शुल्क उठाउन आवश्यक समन्वय तथा सहजीकरणका लागि पर्यटन विभागलाई समेत पत्राचार गरिसकेको अध्यक्ष लामाले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले उठाउने पदयात्रा शुल्क गाउँपालिकालाई बाँडफाँड नहुने भएकाले गाउँपालिकाले नै ऐन बनाएर पर्यटकबाट पदयात्रा शुल्क उठाउन लागेको हो ।
‘‘गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्युन छ, उनले भने, मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले उठाउने शुल्क गाउँपालिकालाई बाँडफाँड नहुने भएकाले गाउँपालिका आफैले पदयात्रा शुल्क उठाउने निर्णय गरेको हो ।’’
गाउँपालिकाले पदयात्रा शुल्कबाट प्राप्त हुने रकमले चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन प्रवद्र्धनमा खर्च गर्ने जनाएको छ । ‘‘पर्यटकबाट पदयात्रा शुल्क उठाएर आम्दानीको स्रोतमात्र बढाउन खोजिएको हैन, अध्यक्ष लामाले भने, ‘‘मनास्लु संरक्षण क्षेत्रमा वातावरण संरक्षण र सम्वद्र्वनमा कसैको ध्यान पुगेको छैन, स्थानीय सरकारले फोहोर व्यवस्थापन र सरसफाईमा पनि विशेष ध्यान दिन लागेको पनि हो ।
पालिकाकाे याे निर्णय प्रति टानले भने हिजै आपत्ती जनाएकाे छ ।




