गोरखा । गोरखा सदरमुकामको फिनाम क्षेत्रमा आफ्नै श्रीमती र बुहारीलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा गोरखा प्रहरीले श्रीमान र ससुरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनाम घर भएका महमद अफजल मियाँ र महमद अहमद मियाँ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार अफजल मियाँका २२ बर्षिया श्रीमती फरिदा खातुनलाई दुवै जना मिली कोठा भित्र खाबोमा बाधेर खाना तथा पानी समेत नदिएर ज्यान मार्ने उद्वेश्यले हातले हान्ने, लौरी, पेटी, खुकुरी तथा चक्कु समेतले प्रहार गरेको आरोपमा प्रकाउ गरीएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार साउन ३० गते राती ८ बजेदेखी ३२ गते बिहान ५ बजेसम्म निरन्तर रुपमा त्यस्तो कार्य गरेको भन्ने पिडितको उजुरीको आधारमा श्रीमान र ससुरालाई पक्राउ गरीएको हो ।
पिडित फरिदा खातुन घरबाट भाग्न सफल भई प्रहरीको सम्र्पकमा आए लगत्तै दुवैजनालाई भाद्र २ गते पक्राउ गरिएको र ४ गते निजहरु बिरुद्व ज्यान मार्ने कसूर शिर्षकम मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरीएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको पनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शर्माले बताए ।



