गोरखा । गौहत्या आरोपमा गोरखा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका–४ धावाका बर्ष ३३ का राजिन सुर्खेती र बर्ष ४१ का बावुराम अछामी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
पक्राउ परेका मध्ये अछामीले स्थानिय दिपक काप्रीको घरबाट १५ हजार मूल्यमा २ बर्षे खरिद गरेर लगि हत्या गरेको आरोप लगेको हो ।
साउन २१ गते सोमबारका दिन खरिद गरेर सोही दिन बन्चरो प्रहार गरी हत्या गरेको भनी बिक्री कर्ता स्वयं दिपक कार्की मार्फत प्रहरीमा जाहेरी परे लगत्तै उनीहरुलाई पक्राउ गरीएको सूचना अधिकारी शर्माले बताए ।
साउन २२ गते पक्राउ परेका उनीहरुबाट गौहत्यामा प्रयोग भएको बन्चरो, खुकुरी र करौती समेत फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई प्रहरीले २२ गते पक्राउ गरी २३ गते नै पशुपंक्षी सम्बन्धी कसूर शिर्षकमा मुद्वा दर्ता गरेको हो ।
प्रहरीले गोरखा जिल्ला अदालतबाट अनुसन्धानकालागि म्याद थप गरी प्रहरीकै हिरासतमा राखेर अनुसन्धान थालेको पनि सूचना अधिकारी शर्माले जानकारी दिए ।




















