गोरखा । युवाहरु बिदेशीने क्रम बढेसंगै गोरखामा एकै बर्षमा १३ हजारभन्दा बढीले राहदानी निकालेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आर्थिक बर्ष ०८०–०८१ मा १३ हजार १५८ जनाले पासपोर्ट लिएका छन् ।
राहदानी लिने अधिकांश ब्यत्ती वैदेशिक अध्ययन वा रोजगारीका लागि जाने गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । उनले राहदानी लिनेहरु मध्ये जिल्लामा सबैभन्दा धेरै पुरुषहरु रहेको जानकारी दिए ।
कार्यालयले उक्त अवधीमा १२ हजार ८४२ ई–पासपोर्ट र ३१६ जनाले जारी भएको एमआरपी लिएको तथ्यांकमा उल्लेख गरेको छ । सोही अवधीमा कार्यालयले १२ हजार ४२९ थान ई–पासपोर्टको फारम संकलन गरेको थियो ।
कार्यालयको तथ्यांक अनुसार पहिलो चौमासिकमा ३ हजार ६३४, दोस्रो चौमासिकमा २ हजार ९२०, तेस्रो चौमासिकमा ३ हजार २५८ र चौथो चौमासिकमा ३ हजार ३० थान पासपोर्ट जारी गरेको थियो । जसमा ८ हजार १९३ जना पुरुष र ४ हजार ६४९ जना महिला रहेका थिए ।
सोही अवधीमा कार्यालयले पहिलो चौमासिकमा ३ हजार ५१०, दोस्रो चौमासिकमा ३ हजार ११८, तेस्रो चौमासिकमा २ हजार ८३९ र चौथो चौमासिकमा २ हजार ९६२ थान ई–पासपोर्टको फारम संकलन गरेको जनाएको छ । जसमा ७ हजार ४७९ जना पुरुष र ४ हजार ९५० जना महिला रहेका थिए ।
जारी एमआरपी मध्ये १३२ जना महिला र १८४ जना पुरुषको भएको पनि कार्यालयले जानकारी दिएको छ ।
ठुलो संख्यामा जारी भएको राहदानीले ठुलै मात्रामा राजश्व समेत संकलन गर्न सफल भएको छ । कार्यालयले गएको आर्थिक बर्षमा मात्रै राहदानीबाट ५ करोड ७ लाख ५६ हजार ५०० रुपैयाँ संकलन गर्न सफल भएको छ ।




















