गोरखा । केही दिन अगाडी मात्र दर्ता भएको मुद्वा फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघ गोरखाले आज बिहान गोरखा सदरमुकाममा विरोध प्रर्दशन गरेको छ । नेविसंघका युवाहरुले गोरखा नगरपालिका–६ को लोकतान्त्रिक चोकममा कोण सभा गर्दै विरोध प्रर्दशन गरेको हो ।
पालुङटार नगरपालिकामा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी श्यामहरि संग्रौलालाई ५ पटकसम्म प्राक्टिकल बिषयमा फेल गराएको भन्दै बिद्यार्थीहरुको एक समूहले शिक्षालयमा नै पुगेर हुलहुज्ज गरेका थिए । सोही बिषयलाई लिएर आफ्ना विद्यार्थीहरुमाथि मुद्धा दर्ता गराएको बिषयलाई लिएर नेविसंघले मंगलबार सदरमुकामको लोकतान्त्रिक चोकमा कोण सभा गरेको कार्यबाहक अध्यक्ष शिवहरी तिमिल्सिनाले जानकारी दिए ।
उक्त घटनाका दोषी शिक्षक ई.आशिष रानाभाटलाई कारबाही गर्नुको सट्टो उल्टै विद्यार्थीलाई झुठो आरोपमा फसाउन खोजेको भन्दै तत्कालै मुद्वा फिर्ता नगरे शैक्षिक आन्दोलनको कार्यक्रम घोषणा गरी शसत्त आन्दोलन गर्ने नेविसंघका केन्द्रिय सदस्य सुवास अधिकारीले बताए ।
विरोध कार्यक्रममा कार्यवाहक जिल्ला अध्यक्ष तिमिल्सिना र केन्द्रिय सदस्य अधिकारीले संबोधन गरेका थिए । कोणसभामा विद्यार्थीहरुले नाराबाजी समेत गरेका थिए ।



