गोरखा । उत्कृष्ठ काम गरेको भन्दै सामुदायिक बन र कबुलियती बनका ६ समूहलाई पुरस्कृत गरीएको छ । डिभिजन बन कार्यालय गोरखाकाले आज एक कार्यक्रमको आयोजना गरी सामुदायिकका ३ र कबुलियती बनका ३ समूहलाई पुरस्कृत गरिएको बन अधिकृत एवं सूचना अधिकारी महेश पौडलले बताए ।
उनका अनुसार सामुदायिक बन तर्फ भिमसेन थापागाउँ पालिका–६ को थाकलडाडाँ, गोरखा नगरपालिका–९ को लक्ष्मी महिला र पालुङटार नगरपालिका–७ को कालिका सामुदायिक बनलाई क्रमश.प्रथम, द्वितिय र तृतिय पुरस्कारले सम्मान गरिएको हो ।
त्यस्तैगरी, कबुलियती बन तर्फ गण्डकी गाउँपालिका–१ को पिपलडाडाँ, भिमसेन थापा गाउँपालिका–१ को विविरे खाल्डो (ग) र अजिरकोट गाउँपालिका–४ को आरनडाडाँ कबुलियती बनलाई क्रमश.प्रथम, द्वितिय र तृतिय पुरस्कार प्रदान गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
पुरस्कृत भएका सामुदायिक बन र कबुलियती बनको समूहलाई प्रमाण पत्रका साथै प्रथम हुनेलाई ७ हजार ५००, द्वितिय हुनेलाई ५ हजार ५०० र तृतिय हुनेलाई ३ हजार ५०० रुपैयाँ नगद समेत प्रदान गरिएको थियो ।
गाेरखा जिल्लामा ५१३ वटा सामुदायिक बन, २८३ वटा कबुलियति बन र ६ वटा निजी बर डिभिजन बन कार्यालयमा दर्ता रहेका छन् ।
पुरस्कृत सबै समूहलाई जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले प्रमाण पत्र र नगद प्रदान गरेका थिए ।
गोरखा नगरपालिका–९ को नाँमजेली डाडाँमा रहेको कार्यालयमा भएको सम्मान कार्यक्रम पूव कार्यालयको आर्थिक बर्ष ०८०–०८१ को बार्षिक समिक्षा गरिएको थियो भने आर्थिक बर्ष ०८१–०८२ को कार्यक्रमका बारेमा डिभिजन प्रमुख मदन मोहन शाडिल्यले जानकारी गराएका थिए ।





















