गोरखा । जिल्लामा गत बर्षको तुलनामा यस बर्ष डेंगु संक्रमितका बिरामीहरु संख्यामा कमी आएको देखिएको छ । स्वास्थ्य कार्यालय गोरखाले सार्वजनिक गरेको तथ्यांक अनुसार यो बर्ष डेंगुका संक्रमितहरुको संख्यामा कमी आएको देखिएको हो । तर स्क्रब टाईफसका संक्रमितहरु भने बढेको देखिएको छ ।
कार्यालयका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन निरिक्षक नारायणबावु अर्यालका अनुसार आब २०७९–०८० मा ५२९ जनामा देखिएकामा २०८०–०८१ मा ४८८ जनामा देखिएको जानकारी दिए । उनका अनुसार साही अवधिको अधिल्लो बर्ष १०८ जनामा स्क्रब टाईफस देखिएकोमा यो बर्ष १६३ जनामा देखिएको छ ।
निरिक्षक अर्यालले दिएको जानकारी अनुसार दुवै संक्रमण जिल्ला सदरमुकामको गोरखा नगरपालिकामा अधिक रुपमा देखिएको छ । आव २०८०–०८१ मा सदरमुकामको गोरखा नगरपालिकामा ३७० जनामा डेंगु देखिएको थियो भने ६२ जनामा स्क्रब टाईफस देखिएको पनि उनले बताए ।
कार्यालयको तथ्यांक अनुसार पालुङटार नगरपालिका डेंगुका २६ र स्क्ब टाईफसका १ जनामा देखिएको छ । क्रमश. भिमसेन थापा गाउँपालिकामा डेंगुका ३४ र स्क्ब टाईफसका ११ जना, अजिरकोट गाउँपालिकामा डेंगुका ३ जना, सिरानचोक गाउँपालिकामा स्क्ब टाईफसका ४ जना र आरुघाट गाउँपालिकामा डेंगुका ५३ जना र स्क्ब टाईफसका ८५ जना देखिएका थिए ।
जिल्लाका बाँकी रहेका चुमनुब्री धार्चे, बारपाक सुलिकोट र गण्डकी गाउँपालिकामा भने दुवै रोगका संक्रमितहरु नदेखिएको पनि निरिक्षक अर्यालले जानकारी दिए ।
ति पालिकाहरुमा संक्रमण नदेखिनुको मुख्य कारण भने संक्रमितहरुले जिल्ला सदरमुकाम वा जिल्ला बाहिर गएर उपचार गराएका कारण पनी रेकर्ड नआएको हुन सक्ने निरिक्षक अर्यालले बताए ।
डेंगु एडिस (एजिप्टा) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।
स्क्रब टाइफस वा बुस टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने रोग हो । यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने गदछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको रर्यालमा भएको खतरनाक जीवाणु रगतमा फैलिन्छ ।
स्क्रब टाइफस संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन् । यसको समयमै उपचार नगरे विभिन्न अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुने गर्दछ ।
संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नुपर्ने पर्छ । खेतबारी, बुट्यान, जङ्गलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना रहने हुन्छ । घरभित्र मुसा भएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ । स्क्रब टाइफसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाइन्छ ।



