काठमाडौं । फाइनान्स कम्पनीबाट ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएर बेपत्ता भएका काभ्रेको पनौतीका रामभक्त थापालाई आज प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीबाट कर्जा लिएर रकम दुरुपयोग मुद्दामा दोषी ठहर भएका थापालाई प्रहरीले ९ बर्ष पछी पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थापालाई काठमाण्डौबाट पक्राउ गरेको जनाएको छ । फाइनान्सका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर थापाले काभ्रे ब्रोइलर सप्लायर्स प्राइभेट फर्मको फर्जी कागजात तयार गरी उक्त रकम कर्जा लिएको प्रहरीले जानकारी दिएको छ ।
उनले कर्जाको दुरुपयोग गरेर क्यापिटल मर्चेन्ट तथा फाइनान्सलाई ९ करोड ७ लाख रुपैयाँभन्दा धेरै रकम नोक्सानी पुर्याएको साविकको पुनरावेदन अदालत पाटनले २०७१ सालको वैशाख २९ गते फैसला गरे लगत्तै थापा फरार भएका थिए ।
अदालतले थापालाई बैंकिङ कसुर तथा सजाय ऐनअनुसार ३ वर्ष कैद र बिगो असुल गरी बिगोअनुसार जरिबाना हुने फैसला गरेको थियो ।



