साँकेतित तस्बिर
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ अर्थात महेन्द्र भोटे र भविश्वर अर्याल कारागार चलान भएका छन् ।
बुधवार कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङ र अर्याललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
गएको भदौ २४ गते पक्राउ पुर्जा जारी भएपछि फरार रहेका गुरुङ र अर्याल मङ्गलवार आफै अदालतमा उपस्थित भएका थिए ।
यसअघि सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
पोखरामा गितेन्द्र अर्थात जीबी राईको समूहले सञ्चालन गरेको सूर्यदर्शन सहकारीले बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सहकारीले झन्डै १९ हजार जना बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको छ । १ हजार ३५ जनाले १ अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित सहकारीविरुद्ध जाहेरी दिएका छन् ।



