काठमाडौं । लकडाउनका कारण नेपालका मात्र नभई विश्वभरका विद्यार्थी प्रभावित भएका छन् । यो बीचमा नेपालमा नतिजा प्रकाशन, भर्नाजस्ता कुराहरुलाई लिएर तनाब उत्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताउनु भएको छ । उहाँले वैशाख २५ गते लकडाउन समाप्त भएपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्ने बताउनुभयो । लकडाउनसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको पनि जानकारी दिनुभयो । यसरी सरकारले वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने उहाँको दावा रहेको छ ।
कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने मन्त्री पोखरेलले जनाउनुभयो । लकडाउन कायमै रहे पनि केही खुकुलो गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले सम्बन्धित विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । मन्त्री पोखरेलले सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको समेत उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले जनक शिक्षालाई सबै जिल्लामा पाठ्यपुस्तक पठाउन भनिएको जानकारी गराउनुभयो । अर्को तिर त्यसैअनुसार निजी विद्यालयहरूले समेत तयारी गरिरहेको मन्त्रीले स्पष्ट पार्नुभयो । प्याब्सन, एनप्याब्सनलगायत संगठनसित त्यसैअनुसार कुराकानी सरकारको भएको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनका कारण आममानिसको दैनिकीमा पारेको प्रभाव र स्थगित भएको एसइई, कक्षा ११ र कक्षा १२ का परीक्षाका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिष्ठानद्वारा कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका सन्दर्भमा गठित राहत तथा आर्थिक प्रवद्र्धन प्याकेज अध्ययन समितिले सङ्कटको यो घडीमा एसइई परीक्षाका सम्बन्धमा यस वर्षका लागि सम्बन्धित विद्यालयले नै विद्यार्थीको आजसम्मको मूल्याङ्कनका आधारमा उत्तीर्ण वा अनुत्तीर्ण भनी प्रमाणपत्र दिँदा उचित हुने सुझाव दिएको छ ।
प्रतिष्ठानले लकडाउन अहिलेकै अवस्थामा लम्बिँदै जाँदा एकातर्फ आम नागरिकको दैनिक जीवनयापन कष्टकर हुँदै गएको र अर्कोतर्फ लकडाउनले गर्दा सिर्जना भएका समस्यालाई सम्बोधन गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आवश्यक सतर्कताका उपाय अपनाइ लकडाउन खुकुलो बनाउनेबारेमा सुझाव दिएको छ। प्रतिष्ठानले अत्यावश्यक कामका लागि लकडाउन खुकुलो बनाउँदै जाने र भोकमरी तथा आर्थिक सङ्कट आउन नदिने व्यवहारिक कार्यक्रम लागू गर्न सरकारसँग आग्रह गरेको छ।
प्रतिष्ठानका अध्यक्ष एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले एक वक्तव्यमार्फत कक्षा ११ को परीक्षा भने यस वर्षका लागि स्थगन गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाका आधारमा प्रमाणपत्र वितरण गर्न र कोराना सङ्क्रमणको जोखिम न्यून हुँदै गएपछि सावधानीका सबै उपाय अपनाइ कक्षा १२ को परीक्षा सञ्चालन गर्न अपिल गरेका छन्। प्रतिष्ठानले समाजका विभिन्न वर्ग र विशेषज्ञहरुको छलफल तथा अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरेर, हरेक पालिकाले विश्व स्वस्थ्य सङ्गठनले जारी गरेको कोभिड–१९को नियन्त्रणसम्बन्धी निर्देशिका पालना गरेर, पिसीआर परीक्षणको दायरा व्यापकरूपमा बढाएर र उपचार प्रक्रियालाई चुस्तदुरुस्त राखेर तथा अन्य स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर लकडाउन खुकुलो पार्दै र क्रमिकरूपमा आर्थिक गतिविधि सञ्चालन गर्दै जान सकिनेबारेमा सरकारको ध्यानाकर्षण गराएको छ।


