आज (आइतबार ) नेपालगन्जमा संक्रमित पुष्टि भएका ९ जनामध्ये १ जना ७ वर्ष उमेरका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिनुभयो । तर बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनु भएन ।
नेपालमा यति सानो उमेरमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । आज नेपालगन्जमा भेटिएका ९ जना मध्ये ५ जना पुरूष र ४ जना महिला छन् । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन् । त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ । वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ ।


