गोरखा समाचारदाता
काठमाण्डौं – आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा यो दिवश विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ नारासहित यो दिवस मनाइँदैछ ।
सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
यस वर्ष कोरोना संक्रमणका कारण कार्यक्रम नभए पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन–प्रसारणमार्फत विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछ ।
रिपोर्टर विदाउट बोर्डरले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा नेपाल १ सय १२ औं स्थानमा छ । नेपाल पत्रकार महासंघका अनुसार २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना दर्ता भएका छन् । यसबाट ९४ पत्रकार तथा ३ सञ्चार संस्था गरी ९७ पीडित भएका छन् ।
विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पार्ने काम धेरै भएको महासंघको भनाइ छ ।




















