रातभर जोडले हावाहुरी चल्छ । रातभरि झरी पर्छ । यो क्रम केही दिनदेखि निरन्तर चलिरहेको छ । यस्तो मौसममा त्रिपाल टाँगेर बस्दा कस्तो होला ? टाँगिएका त्रिपाल उडाएर कहाँ पुऱ्याउला हामी कल्पना मात्र गर्न सक्छौँ ।
तर, कोरोना नियन्त्रणका लागि सीमामा खटिएका सुरक्षाकर्मीले यो अवस्था निरन्तर भोगिरहेका छन् । सीमामा खटिएका प्रहरी २४सै घन्टा यस्तै समस्यासँग जुधिरहेका छन् ।
खुला सीमाबाट आवतजावत गर्ने मानिसलाई रोक्न खटिएका प्रहरी चैत अन्तिम साताबाट पालमुनि छन् । झापामा दक्षिणपश्चिममा गौरीगन्जदेखि पूर्वोत्तर मेचीनगरको तिरिङसम्म एक सय ४४ दशमलव दुई किलोमिटर खुला सीमा छ ।
झापाको खुला सीमामा एक सय ३२ सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी पोस्ट छ । तीमध्ये ३२ ठाउँमा नेपाल प्रहरी, ३९ ठाउँमा सशस्त्र र ५७ ठाउँमा संयुक्त पोस्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यी अस्थायी पोस्टमा करिब १५ सय सुरक्षाकर्मी खटाइएको छ ।




















