महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत ६ जना प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। बिदा लिएर घर गएका उनीहरु बिदा सकिएपछि हाजिर हुन आएका थिए । वृत्त थानकोटका अनुसार बिदा सकिएर वैशाख १२ गतेदेखि यता विभिन्न मितिमा हाजिर हुन आएकाहरुलाई चन्द्रागिरी नगरपालिका- ४ स्थित छुट्टै भवनमा राखिएको छ ।
उनीहरु बारा, सप्तरी, रौतहट र कन्चनपुरबाट हाजिर हुन आएकाहरु हुन् । भारतसँग सीमाना जोडिएका उक्त जिल्लाहरुबाट आएकाले जोखिम हुनसक्ने भन्दै सेल्फ क्वारेन्टाइनमा राखिएको हो ।
प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राख्न चन्द्रागिरी-४ कै सानुकाजी शाहीले भवन उपलब्ध गराएको वृत्तले जनाएको छ । योसँगै वृत्त थानकोटले कोही व्यक्ति चन्द्रागिरी नगरपालिकाको क्षेत्रमा कुनै बाहिरी जिल्लाबाट पछिल्लो केही हप्ताभित्र आएको भए सेल्फ क्वारेन्टाइनमा बसिदिन पनि आग्रह गरेको छ ।


