गोरखा समाचारदाता
काठमाण्डौं – कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै फेरि पक्राउ परेका छन् ।
२५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर काठमाडौं जिल्ला अदालतबाट रिहा भएलगत्तै सम्पत्ति शुद्धिकरण विभागले अग्रवाललाई पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर पठाउन आदेश दिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको हो ।
अग्रवाल अवैतनिक वाणिज्य दूतसमेत भएकाले थप सजाय माग गर्दै जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो । अग्रवाल कीर्गिस्तानका अवैतानिक दूत थिए ।
ग्राहक बनेर थर्मल गन किन्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई उनले २ हजार ४५० पर्ने थर्मल गन १५ हजारमा बेच्न लागेका बेला गत ०७६ चैत २५ गते पक्राउ गरेको थियो ।
त्यसबेला प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको थियो । चीनबाट १२ सय थान गन ल्याएको अनुसन्धानका क्रममा भेटिए पनि प्रहरीले अग्रवालले १ सय ४५ थान मात्रै थर्मल गन कालोबजारी गरेर बेचेको पुष्टि गरेको थियो । बाँकी थर्मल गन भने अहिलेसम्म फेला परेको छैन ।


