गोरखा समाचारदाता
काठमाण्डौं – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल मार्फत गाली गरेको आरोपमा प्रधानमन्त्री ओली निकट एक पत्रकार पक्राउ परेको छ ।
रेडियो नेपालको बोर्ड सदस्य समेत रहेका पत्रकार दिपक पाठक भक्तपुरबाट आज नेपाल प्रहरीको एक टोलीले पक्राउ गरेको हो ।
पाठक प्रधानमन्त्री केपी शर्मा ओली नजिकका पत्रकार भनेर चिनिन्छन् । उनलाई यसअघि प्रधानमन्त्री ओलीले प्रेस काउन्सिलको सदस्य बनाउन समेत प्रस्ताव गरेका थिए ।
उनलाई प्रधानमन्त्री ओलीकै निर्देशनमा रेडियो नेपालको बोर्ड सदस्य बनाइएको थियो ।
केही दिनअघि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पाठकले सामाजिक सञ्जालमार्फत दाहालविरुद्ध गाली गलौज गरेको आरोप लगाउँदै छानविन र कारवाहीका लागि उजुरी दिएका थिए ।
उजुरीपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।


