गत वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बजारमा रहेको एक पसलमा भएको आगलागीमा घाइते भएका एक जनाको बुधबार निधन भएको छ । बाग्लुङको बरेङ गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालको गुल्मीको शान्तिपुर बसपार्कस्थित घरमा आगलागी हुँदा घाइते खनालको बुधबार काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
खाद्यान्न र ग्याँससँगै खुला रूपमा डिजल र पेट्रोलको समेत विक्री वितरण गर्दै आएका खनालको घरमा एक्कासि भएको आगलागीमा परी उनका कान्छो छोरा १६ वर्षीय समिरको सोही दिन घटनास्थलमै मृत्यु भएको थियो। आगलागीमा पनि खनाल र उनकी श्रीमती रूपा खनाल घाइते भएका थिए ।
घाइते दुवै जनाको सोही दिनदेखि नै काठमाडौंमा उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार निधन भएको हो । आगलागीमा परी जलेको घाउ निको हुँदै गए पनि सोही आगलागीबाट घटनास्थलमै छोराको ज्यान गएपछि विक्षिप्त बन्दै गएका खनालको हृदयघातका कारण ज्यान गएको पारिवारिक स्रोतले बताएको छ । खनालले लामो समयदेखि शान्तिपुर बसपार्कमा खनाल स्टोर्स सञ्चालन गर्दै आएका थिए ।




















