गोरखा समाचारदाता
दार्चुला – एक महिनादेखि भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिनमा बसिरहेका नेपाली नागरिकहरु आज स्वदेश फर्किएका छन् ।
पिथौरागढको धारचुला, बलुवाकोट, झुलाघाट क्षेत्रका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १ हजार ८०० नेपालीलाई गृह मन्त्रालयको निर्देशनमा भारतीय पक्षसँग समन्वय गरी आज (बिहीबार) स्वदेश फर्किएका हुन् ।
नेपाल प्रवेशपछि पनि उनीहरुलाई स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । एक महिना भारतीय क्वारेन्टाइनमा बसेका उनीहरुलाई थप १४ दिन क्वारेन्टाइनमा राखिने छ ।
दार्चुलामा २५० नेपाली अहिले महाकालीमा पौडी खेलेर तथा ट्युबमा तरेर आइसकेका छन् । उनीहरुमध्ये धेरैलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।
रोजगारीका लागि भारतका विभिन्न स्थानमा गएका उनीहरु लकडाउनपछि घर फर्किन नेपाल–भारत सीमामा आइपुग्दा रोकिएका थिए ।




















