गोरखा समाचारदाता
रौतहट – रौतहटमा थप २ जनामा कोरोना संक्रमण भेटिएपछि ति वडाहरुलाई सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले संक्रमित भेटिएका २ वटा वडालाई सील गरेको हो ।
वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ लाई चार किल्ला तोकेर सील गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । ति वडाहरुबाट मानिसहरु बाहिर निस्किन र बाहिरबाट वडामा प्रवेश गर्न रोक लगाइएको छ ।
प्रशासनले वृन्दावन नगरपालिका ९ भुसहाको दक्षिणमा भिमडाबर, उत्तरमा आकारपाथर, पश्चिममा बहुअरी र बरगजवा र पूर्वमा विर्ता गाउँभित्रको इलाका सील गरेको हो ।
त्यस्तै देवाही गोनाही नगरपालिका १ नहरटोलको पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदी, उत्तरमा खेसरहिया र दक्षिणमा नहर सम्मको इलाका सील गएिको छ ।
भारतबाट फर्किएर समुदाय र परिवारमा बसेर केही दिनपछि मात्रै क्वारेन्टिनमा गएका कारण सो स्थानका सबैको परीक्षण गर्नुपर्ने देखिएको छ । घर फर्किएर परिवार र समुदायमा १० दिन बिताइ सकेपछि आएको नतिजाले वृन्दावन र आसपासका नगरपालिकामा पनि संक्रमणको खतरा बढेको छ ।
दुवै स्थानका समुदायको बृहद रुपमा परीक्षण गर्नुपर्ने भएकोले दुवै वडालाई सील गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।


