अहिले विश्वभर आतंक मच्चाइरहेकाे कोरोना भाइरसविरुद्ध नेपालमै औषधि बनाइएकाे दाबी गरिएको छ । हेटौंडामा रहेको वन-विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडीबुटीको सम्मिश्रणबाट आफूले कोरोना संक्रमण निको हुने औषधि बनाएको दाबी गरेका हुन् ।
भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पीएचडी गरेका डा. दासले आफ्नो प्रयोगशालामा केही एन्टी-अक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्टबाट कोरोनाविरुद्धको औषधि बनाएको जानकारी दिएका छन् ।
यसको थप परीक्षण गर्ने स्रोत/साधन हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा नरहेकाले सहयोगका लागि डा. दासले सरोकारवालासमक्ष आह्वान गरेका छन् ।
अध्ययन संस्थानका प्रमुख विजय यादवलगायत वैज्ञानिक र रसायन-विज्ञ बुधबार बिहान उनकाे प्रयोगशाला पुगेर त्याे औषधि अवलोकन गरेका छन् ।
सरकार, विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठनजस्ता अधिकारिक निकायले आफूले बनाएको औषधिको आवश्यक परीक्षण गरे प्रभावकारी हुने उनको दाबी छ । तर यसरी बनाइएको सम्भावित औषधि प्रमाणित हुन निकै समय र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा. दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष पनि हुन्।


