गोरखा समाचारदाता
रुपन्देही – नेपाल भारत सीमा क्षेत्र अन्र्तगत रुपन्देहीको यशोधरा गाउंपालिका सात सेमरी नाकामा सीमा सुरक्षामा खटिएका २ जना सुरक्षाकर्मीलाई भारतीय नागरिकले कुटपिट गरेका छन् ।
मर्यादपुर प्रहरी चौकीबाट सेमरी सीमा नाकामा खटिएका प्रहरी हवल्दार वशिष्ट यादव र प्रहरी जवान ईश्वर ज्ञवालीलाई सीमा नाका संगैको भारतीय गाउं पर्सौनाका भारतीयहरुले कुटपीट गरेका हुन् ।
भारतीय नागरिकहरुले सीमा नाकाको करीब २ सय मीटर दक्षिणतर्फ कुटपीट गरी लैजादै गर्दा उनीहरुलाई सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलकाले उद्धार गरेको थियो ।
घटनाको अगुवाई गर्ने ३ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ । भारतीयका बाख्रा नेपालतर्फ आउंदा प्रहरीले गाउंका एक जनालाई कुटपिट गरेपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेका हुन ।
कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले सीमा क्षेत्र शिल गर्ने घोषणा संगै जिल्लाका सीमा नाकाहरु पूर्ण रुपमा वन्द गरिएको छ । सीमा नाका पूर्ण रुपमा बन्द भए पछि सीमा नाकाबाट ओहोर दोहोर गर्न नपाएका कारण सुरक्षाकर्मीहरु माथि आक्रमण हुने गरेको छ ।


