काठमाडौं । लामो समय देखि सरकारले गरेको लकडाउनका कारण सर्वसाधारण मर्कामा परेका छन् । दिनहुँ कमाएर खानेहरु बेखर्ची भएर पैदलै सयौं किलोमिटरको दुरी पार गरेर घर पुग्न भन्दै हिडेका छन् । पैदल हिडेकाहरुको पनि बाटोमा खान नपाएर बिचल्ली भएको छ । साना बालबालिका बोकेर हिडेकाहरुको बिजोग अवस्थाको तस्बिर सार्वजनिक भएको छ । यस्तो अवस्थामा काठमाडौंमा विभिन्न क्षेत्रका ब्यक्ति सहयोगका लागि बाहिर निस्केका छन् ।
कलाकार, ब्यवसायी र केही सामाजिक अभियन्ता अहिले राहत र सहयोग जुटाउने काममा लागेका छन् यसैबिच एविसी टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल पनि सहयोगका लागि सडकमा छन् । इन्द्रेणी फुडल्याण्डका अगाडी राहत दिन भन्दै निस्किएका उनका अगाडी हजारौंको भिड छ । उनको कार्यक्रम इन्द्रेणीमा विदेशमा बस्ने नेपालीहरुले विपन्न र अप्ठेरोमा परेकाहरुलाई सहयोगका लागि पैसा पठाउने गर्छन ।
विदेशमा बस्ने नेपालीले पठाएको रकमवाट उपचार नपाएका हजारौं नागरिकले उपचार पाएका छन्, विपन्नलाई राहत मिलेको छ धेरैले नयाँ जिवन पाएका छन् । अहिले लकडाउनका कारण अप्ठेरोमा परेकाहरुलाई सहयोग दिनु भन्दै विदेशमा बसेका नेपालीले पठाएको रकमवाट कृष्णले राहत वितरण गरिहरको छन् ।
यस्तोमा उनले राहत वितरण गर्ने स्थानमा आएका कतिपय वास्तविक विपन्न नभएर सम्पन्न पनि आएको देखेपछि कृष्णले त्यस्तालाई वाटोमै उठवस गराउँदै आइन्दा यस्तो गल्ती नगर्न बाचा गराइरहेका छन् । कतिपय त एक पटक राहत लिएर गएका पनि फेरी आएको पनि देखिएको छ । त्यस्तालाई माक्स खोल्न लगाएर माफि माग्न लगाएका छन् ।


