गोरखा समाचारदाता
गोरखा – आज अक्षय तृतीया, बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीया भनिन्छ ।
पुराण ग्रन्थहरू अनुसार आजको दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ । यसै कारण अक्षय तृतीया भनिएको हो।
सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर बैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरूमा मानिन्छ । भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो ।
भगवान विष्णुले नर–नारायण, हयग्रीव र परशुराम को अवतरण पनि यसै तिथिमा भएको विश्वास गरिन्छ ।
धार्मिक महत्व
हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ ।
ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।
गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।
हिन्दु कालगणना अनुसार ४ स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ ।
अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथा अनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ ।
परशुरामलाई विष्णुका १० अवतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ ।
४ युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । ४ धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथि कै दिन खोलिन्छ ।
भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।
वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो ।
लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ ।
अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृ तर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ ।
दालचिनी, ल्वाङ, सुकुमेल, अलैंची, मह, चिनी, सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ ।
आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ ।
यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।
शास्त्रीय विधान अनुसार आज दियो कलश र गणेशलाई पूजी कलस माथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।


