एजेन्सी – ब्राजिलका न्याय मन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् ।
राष्ट्रपति जायर बोल्सोनारोले संघीय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि उनले राजीनामा दिएका हुन् ।
मोरोले राष्ट्रपतिको निर्णयलाई राजनीतिक हस्तक्षेप भनेका छन । शुक्रबार राष्ट्रपति बोल्सोनारोले संघीय प्रहरी प्रमुख माउरिसियो भालेक्सोलाई बर्खास्त गरेका थिए ।
उनलाई बर्खास्त गरेमा आफूले राजीनामा दिने मोरोले यसअघि नै बताएका थिए ।
भावी प्रहरी प्रमुखको छनौट गर्न आफुलाई दिने भए पदमा बसिरहने मोरोको सर्तमा पनि बोल्सोनारो सहमत नभएपछि उनले पद त्याग गरेका हुन ।
गोप्य सूचनाहरु सीधै आफूसम्म पुर्याउने व्यक्तिको खोजी बोल्सोनारोले गरेको मोरोको आरोप छ । तर बोल्सोनारोले भने आफूमाथि लगाइएको आरोप आधारहिन रहेको दाबी गरेका छन् ।
पूर्व न्यायाधीश समेत रहेका मोरोले ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको सुनुवाई समेत गरेका थिए ।


