गोरखा समाचारदाता
काठमाण्डौं – कोरियामा कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाहरुलाई प्रान्तीय सरकारले आफ्ना नागरिकलाई जस्दै विदेशीलाई पनि राहत दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउने छन् ।
दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो ।
कोरियामा महामारी फैलिएको समयदेखि नै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई प्रान्तीय सरकारले १ लाख कोरियाली वान राहतस्वरुप दिँदै आएको थियो ।
अबदेखि उक्त राहत एफ छ र एफ ट प्रवेशाज्ञा भएका विदेशीलाई पनि दिने निर्णय गरिएको हो । निर्णयानुसार एफ छ र एफ ट प्रवेशाज्ञा भएका नेपालीले पनि अब उक्त राहत पाउने छन् ।
यसअघि कर विदेशीसँग पनि लिने तर राहत बाँड्ने बेलामा भेदभाव गरेको भनी प्रान्त सरकारले बाँड्ने राहत विदेशलाई पनि दिनुपर्छ भन्दै हस्तारक्षर संकलन गरिएको थियो ।
३ हप्तामा १४ हजार हस्ताक्षर प्रान्तीय सरकारको सरकारी वेबसाइट जम्मा भएको थियो । तथ्यांकानुसार ख्याङ्गिदो प्रान्तमा ६० हजारभन्दा बढी स्थायी तथा ४८ हजारभन्दा बढी वैवाहिक प्रवेशाज्ञामा बसेका विदेशी नागरिक छन् ।


