गोरखा समाचारदाता
काठमाण्डौँ – कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित एसईई परिक्षा जेठ मसान्तसम्म नहुने भएको छ ।
कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके परिक्षा लिन नसकिने भन्दै विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी गरेको हो ।
स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग छलफल गर्दै जेठभित्र परीक्षा लिन सकेको खण्डमा यसै शैक्षिक सत्रमा विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औँल्याइएका थिए ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षार्थिहरुलाई जेठ मसान्त सम्म कुर्न आग्रह गरेको छ । ‘जेठमा परीक्षा लिन सकेको अवस्थामा पनि उत्तरपुस्तिका सङ्कलन, परीक्षण, नजिता प्रकाशन लगायतका कामलाई द्रुत गतिमा गरेर यसै शैक्षिक सत्रमा प्रभाव नपार्ने गरी कक्षा ११ मा भर्ना लिन सकिने’ खकुरेलको भनाइ छ ।
सङ्क्रमण लम्बिए विकल्प
कोराना सङ्क्रमण लामो समयसम्म कायम रहेको अवस्थामामाध्यमिक तहको परीक्षा लिने प्रणालीमा नै परिवर्तन गरी विकल्प खोजिने भएको छ । हाल बोर्डले नै एसईईका साथै कक्षा ११ र १२ को वार्षिक परीक्षा लिने कानुनी प्रावधान छ ।
यो प्रावधानलाई परिवर्तन गरेर प्रदेश, जिल्ला या विद्यालय तहलाई नै जिम्मा दिने खालको विकल्प हुन सक्ने छ । बोर्डले नयाँ कानुनी प्रावधान परिवर्तन गर्नुपरेको अवस्थामा मन्त्रालयलाई लिखित विकल्प सुझाउने जनाइएको छ ।
छलफलमा सहभागी नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले स्थगित एसईई परीक्षा सञ्चालनका लागि जेठसम्म कुर्न सबैले सुझाव दिएको बताए । कक्षा ११ र १२ को परीक्षा भने भदौभित्र हुन सक्ने आकलन गरिएको छ ।
महासङ्घले कक्षा १० को परीक्षा विद्यालयले नै गर्ने गरी जिम्मा दिन तथा शिक्षक, प्रधानाध्यापकलाई विश्वास गर्न सुझाव दिएको छ । यसका साथै परिस्थिति हेरेर हिमाल, पहाड र तराईमा अलग–अलग समयमा परीक्षा गर्ने हिसाबले समेत सोच्नुपर्ने सुझाव महासङ्घको छ । महासङ्घले यसका लागि कानुनी हिसाबले तयारी गर्न समेत केन्द्रलाई सुझाव दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्ने देखिएपछि सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । यसका साथै वैशाख ८ देखि कक्षा १२ र वैशाख २१ देखि कक्षा ११ को परीक्षा गर्ने तयारीसमेत बोर्डले गरेको थियो ।


