एजेन्सी – चीनले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०लाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ ।
अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको केही समयपछि चीनले यस्तो घोषणा गरेको हो । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँका लागि यो सहयोग लिन लागिएको बताएको छ ।
यसअघि अमेरिकाले डब्ल्यूएचओले यो महामारीलाई नियन्त्रण गर्न उचित कदम चाल्न नसकेको आरोप लगाउँदै उसलाई अहिलेसम्म दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको थियो ।
चिनियाँ विदेशमन्त्री कङ शुआङले यसअघि नै २ करोड डलर सहयोगको आश्वासन दिई सकेको थियो । अहिलेको थप ३ करोड डलर सहयोग गर्न लागिएको बताएका हुन् । यसले विश्वका सबै मुलुकको स्वास्थ्य प्रणाली बलियो बनाउन सहयोग पुग्न सक्ने बताइएको छ ।
अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई पक्षपात गरेको आरोप लगाएका थिए । उनका अनुसार वार्षिक रुपमा अमेरिकामा कर तिर्ने मानिसहरुले डब्ल्यूएचओलाई ४० देखि ५० करोड डलर दिँदै आएका छन् । चीनले भने केवल ४ करोड डलर मात्र सहयोग गर्दै आएको छ ।
ट्रम्पले डब्ल्यूएचओले समयमा नै सूचित गरेको खण्डमा धेरै मानिसलाई मृत्यु हुनबाट बचाउन सकिने बताएका थिए । अहिले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस सबैभन्दा पहिला चीनको वुहानमा देखिएको थियो । तर, चीनले अमेरिकालगायत विश्वका सबै मुलुकहरुलाई डब्ल्यूएचओलाई सहयोग गर्न आग्रह गरिरहेको छ ।
साथै उसले महामारीको विषयमा वास्तविक तथ्यांक लुकाएको पश्चिमा मुलुकको आरोपलाई अस्वीकार गर्दै आएको छ । उसले डब्ल्यूएचओले कसैलाई पक्षपात नगरेको पनि बताउँदै आएको छ ।


