गोरखा समाचारदाता
काठमाण्डौं – समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा नयाँ पार्टी बनाउन ७ सांसदहरुले निर्णय गरेका छन् ।
यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको सो समूहका एक सांसदले बताए ।
बिद्रोही सांसदहरूले रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएर नयाँ पार्टी गठन गर्ने निर्णय पनि गरेका छन् । समाजवादीका ७ सांसदले पार्टी फुटाउने निर्णय गरेपछि हतारहतार मध्यरातमा समाजवादी पार्टी र राजपाले एकीकरणको घोषणा गरेका छन् ।
दुई पार्टी एक भएपछि ७ सांसदले मात्र एकीकृत पार्टीको संसदीय दलको ४० प्रतिशत पुग्ने छैन । तर त्यसका लागि एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ । यसका लागि कुन पार्टी पहिले निर्वाचनमा आयोग दर्ता हुन्छ भन्ने कुरा महत्वपूर्ण हुनेछ ।
नयाँ एकीकृत पार्टी निर्वाचन आयोगमा पहिले दर्ता भयो भने समाजवादी फुटाएर ७ सांसदले अर्को नयाँ पार्टी दर्ता गर्न पाउने छैनन् । तर सत्ताको साथ रेणु यादव नेतृत्वका सांसदलाई रहने हुनाले उनीहरूकै पार्टी निर्वाचन आयोगमा पहिला दर्ता हुन्छ भन्ने अनुमान गरिएको छ ।


