मास क्वारेन्टाईनमा बसेका ७ जनालाई बिदाई गरियो
गोरखा समाचारदाता
गोरखा – गोरखाको शहिद लखन गाउँपालिमा विदेशबाट आएका सबैको आरडिटी टेष्ट नन रियाक्टिभ देखिएको छ ।
पालिकामा चैत्र १ गते देखी बिदेशबाट आएका ४२ जनामा आरडिटी टेष्ट गर्दा नन रियाक्टिभ देखिएको हो ।
यो टेष्ट संगै पछि मास क्वारेन्टाईनमा बसेका ७ जनालाई पनि सशर्त विदाई गरिएको छ । ‘पालिका भित्र ३ स्थानमा देश भित्रै बाट आएकाहरुलाई राखिएको र उनीहरुको रिर्पोट रियाक्टिभ नदेखिए पछि सशर्त बिदाई गरिएको’ शहिद लखन गाउँपालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार ‘मास क्वारेन्टाईनमा बसेको १४ दिन भई सकेको र प्रदेशबाट प्राप्त सर्तनामा र कोरोना नभएको प्रमाण पत्र दिएर बिदाई गरिएको हो ।’
विदेशबाट आएकाहरु भने पहिले देखी नै घरमा नै सेल्फ क्वारेन्टाईनमा बसेको गाउँपालिकाले जनाएको छ । सबैमा परिक्षण सम्पन्न भएको र कोही कसैलाई पनि शंका गर्ने ठाउँ नभए पछि गाउँपालिकाका अध्यक्ष रमेशबावु थापाको रोहबरमा छाडिएको हो ।
लकडाउन संगै पालिका प्रवेश गरेका ७ जनालाई पालिकाको जलदेवी मावि तानमानेमा ४ जना, हिमालय मावि घैरुङमा २ जना र ताक्लुङको सिंजाली महिला भवनमा १ जना पुरुषलाई राखिएको थियो । उनीहरु लकडाउन संगै संघिय राजधानी काठमाण्डौंबाट ५ जना तनहुँको दमौलीबाट २ जना आएको स्वास्थ्य प्रमुख श्रेष्ठले जानकारी दिए ।
मास क्वारेन्टाईनमा बस्नेहरुलाई घरमा पनि १ हप्ता सेल्फ क्वारेन्टाईनमा बस्ने गरी कबुलियतनामा गरेर पठाईएको गाउँपालिकाकाले जनाएको छ ।
तस्बिर सौजन्य स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठ



