गोरखा समाचारदाता
काठमाण्डौं – बुधबार ३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका बताए । उनका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा यो संक्रमण देखिएको हो ।
मंगलबार मात्रै पनि उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।
संक्रमितमध्ये २ जना विराटनगर महानगरपालिका वडा नम्बर १५ र १७ का हुन् भने १ जना उदयपुरको मस्जिदमा बस्दै आएका भारतीय नागरिक हुन् ।
संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल लगिएको छ ।
मन्त्रालयका अनुसार आरडीटी विधिबाट ३१ हजार ४२० र पीसीआर विधिबाट ९ हजार ११ गरेर बुधबारसम्म कुल ४० हजार ४३१ जनामा कोरोना परीक्षण भई सकेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४३६ जनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा ३ हजार ९७, प्रदेश २ मा ३ हजार ९२५, बागमती प्रदेशमा ५ हजार ९१५, गण्डकी प्रदेशमा ४ हजार २७२, प्रदेश ५ मा २ हजार ५९६, कर्णाली प्रदेशमा ४ हजार ३०८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३०७ जनामा कोरोना परीक्षण भएको छ।
अहिलेसम्म मुलुकभरमा क्वारेन्टाइन ८ हजार ५९५ जना रहेका छन् । उपत्यका ३ र बाहिर ९२ गरेर आइसोलेसनमा ९५ जनाले उपचार गराइरहेका छन् ।
नेपालमा संक्रमितको संख्या ४५ पुग्दा डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ।


