गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकामको विभिन्न स्थानमा बजार अनुगमनलाई तिब्र पारीएको छ ।
लकडाउनका मौका छोपी म्याद गुज्रीएका सामानको बिक्री बढेको गुनासा आउन थाले पछि बजार अनुगमनलाई तिब्र पारीएको हो ।
गोरखा नगरपालिकाले उप मेयर बिनाकुमारी श्रेष्ठको नेतृत्वमा गोरखा नगरपालिका भित्रको पसलहरुको अनुगमन गरेको हो । अनुगमनमा क्रममा केही स्थानमा दाल, चामल र तेलको मुल्य बृद्वी भएको पाईएको नगरपालिकाले जनाएको छ ।
‘चामलमा प्रति बोरा ७५, तेलको प्याकमा ९० र दालको बोरामा १०० रुपैयाँ सम्म बृद्वी भएको पायौ’ उप मेयर श्रेष्ठले बताईन । उनले ‘गोरखा बजारमो तरकारी पसलमा अनुगमन गर्दा केही तरकारी पसलमा सडे गलेका तरकारी बेच्न राखिएको पाइएकोले एक पटकका लागि सचिने मौका सहित त्यस्तो तरकारीलाई तत्कालै फाल्न लगाईएको’ बताईन ।
लकडाउन यता मात्रै नगरपालिकाले साप्ताहिक रुपमा बजार अनुगमन गर्न थालेको छ । ‘बजारमा सामान किन्दा म्याद गुज्रीएका सामान किन्नु परेको भन्दै ग्राहकले गुनासा गर्न थाले पछि हामीले तत्कालै बजारमा गएर सम्वन्धी पसलमा अनुगमन गर्ने गरेकौ छौ’ भन्छन् गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत चेतप्रसाद अंगाई ।
अनुगमन टोलीमा समेत रहने अंगाईका अनुसार किराना पसलमा म्याद गुज्रीएका सामान फेला परेको, केही सामानको मुल्य बृद्वी भएको, तरकारी पसलमा सडे गलेका तरकारी राखेको भएता पनि कालो बजारी भने नभएको बताए । उनका अनुसार लकडाउन लम्बिएको खण्डमा पनि अझै केही हप्ताका लागि सामान पुग्ने गरी ब्यापारीले गोदाम गरी राखेको बताए ।
लक डाउन लगत्तै भारतीय बजारबाट आउने गरेको तरकारीलाई भने स्थानिय तहका जनप्रतिनिधीहरुले प्रतिबन्ध लगाएका कारण आउन छाडेको छ । तरकारी समेत कोरोना संक्रमण हुन सक्ने भन्दै स्थानिय तरकारीलाई बढावा दिने भन्दै जिल्ला बाहिरबाट आउने तरकारी समेत जिल्ला प्रवेशमा रोक लगाईएको छ ।


