गोरखा समाचारदाता
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रमा नेपाली सेनाको चिकित्सक टोलीले २५१ जनाको स्वाब संकलन गरेको छ ।
छाउनी अस्पतालको ४ सदस्सीय चिकित्सक टोलीले २ दिन लगाएर मस्जिदसँगै जोडिएको बस्तीका सर्वसाधरणको संक्लित स्वाब राजधानी लगिएको हो ।
संकलित सबै स्वाब दिउसो नेपाली सेनाको हेलिकप्टरवाट परीक्षणका लागि काठमाडौं लगिएको छ । सेनाका अनुसार ५२ परिवारका १५१ जनाको स्वाब संकलन गरिएको छ । शनिबार पनि मस्जिद टोलमा रहेका ६० जना सर्वसाधारण सहित ६९ जनाको स्वाब संकलन गरिएको थियो ।
यो संगै भुल्केबाट संक्रमितको आशंकामा ३२१ जनाको स्वाब नमुना संकलन भएको छ । मुलुककै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको भुल्केमा ठूलो संख्यामा स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने माग स्थानीयले गर्दै आएका छन् ।
मुस्लिम समुदायको बाहुल्यता रहेको भुल्केको मस्जिदमा रहेका १२ जना भारतीय र ४ जना नेपाली नागरिकको स्वाब परिक्षण गरिदा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुष्टि भएकाहरुमा ११ जना भारतीय र २ जना नेपाली रहेका छन् । स्थानीय प्रशासनले मस्जिद र मुस्लिम बस्तीलाई शिलबन्दी गरेर राखेको छ ।
साथै संक्रमितहरु कहाँ कहाँ पुगेर, को को संग सम्पर्कमा रहे भन्ने कुराको खोजी भईरहेको प्रहरीले जनाएको छ ।


