विश्व भरिनै त्रासका रुपमा रहेको र धेरैको ज्यान लिइसकेको को’रोना भाइरसलाई कैलाली लम्कीका २१ वर्षीय राज विकले पत्ता लागेको १६ दिनमै जिते। सेती प्रादेशिक अस्पतालले दुई पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आइतबार बेलुकी घर पठायो।
लकडाउनको पहिलो दिन चैत ११ गते भारतको मुम्बईबाट आएका उनलाई १२ गते लम्कीचुहा नगरपालिका-९ मा रहेको सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो। नेपाली सेनाको अस्पताल छाउनीको टोलीले संकलन गरेको थ्रोट स्वाबमा उनको कोभिड-१९ रिपोर्ट पोजेटिभ देखियो। त्यसपछि उनलाई चैत २२ गते नै सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको थियो।
अस्पताले युवकको सहमतिमा पत्रकार सम्मेलन गरी उनलाई घर पठायो। को’रोना जितेका युवकलाई अस्पतालबाट विदाई गर्न प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी पनि अस्पताल पुगेका थिए। मन्त्री सुबेदी, मेसु पाण्डे, उपचारमा खटिएका चिकित्सकहरु डा.शेरबहादुर कमर र डा. जगदिश जोशीले पुष्पगुच्छा दिएर उनलाई बिदाई गरे। अस्पतालबाट विदाई हुनुअघि पत्रकारहरुसँग कुराकानी गर्दै विकले, हिम्मत नहारे को’रोना जितिने बताए।
‘हिम्मत राख्नुस, को’रोना जितिन्छ’ उनले भने। ‘सुरुमा त म पनि ‘होपलेस’ भएको थिए, तर स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यले हौसला आयो।’ उनले सबैलाई सचेत रहन र आफ्नो ‘केयर’ आफैँ गर्न आग्रह गरे। अस्पतालबाट घर जाने बेला निकै खुसी देखिएका उनले, अस्पतालमा चिकित्सक र अरु स्वास्थ्यकर्मीको राम्रो व्यवहारले पनि हौसाला मिलेको बताए।सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत उनको लम्कीस्थित घर पठाइएको हो। चिकित्सकहरुले उनलाई घरमा पनि १५ दिनसम्म सेल्फ आइसुलेसनमा बस्न भनेका छन। अन्नपुर्ण पोष्टमा समाचार छ ।


