काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ । बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेनि’ सँग सम्झौता गरेको हो ।
बैंकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियो । नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्ताक्षरयुक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ । केन्द्रीय बैंकले ५ रुपैयाँ दरको नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्न राष्ट्र बैंकले गत १४ जनवरीमा टेन्डर आह्वान गरेको थियो ।
त्यसमा आएको आवेदनका आधारमा चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पाेरेसनलाई नोट छपाइको जिम्मा दिइएको हो । कम्पनीसँग ४३ लाख ९७ हजार ५ सय अमेरिकी डलरमा यस्तो सम्झौता गरिएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी, १० रुपैयाँ दरका लागि कम्पनीसँग ४१ लाख ४० हजार ४ सयमा खरिद सम्झौता भएको छ ।
केन्द्रीय बैंकले यसअघि नै दसैंमा नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको थियो । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दसैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो योजना बनाएको हो । दसैंमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिँदा देशलाई नै ठूलो धनराशि क्षति हुने गरेकोे बुझाइ राष्ट्र बैंकको छ । राष्ट्र बैंकले वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी नोट छपाइमै खर्च गर्दैै आएको छ । नेपालले पहिलोपटक २०७३ सालमा चीनमा १ हजार रुपैयाँ दरका नोट छापेको थियो ।


