गोरखा समाचारदाता
पोखरा – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले अनलाइन बैठक सम्पन्न गरेको छ ।
कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै प्रदेशका क्रियाशिल सञ्चारमाध्यम र पत्रकारहरुको लागि विशेष राहत प्याकेज ल्याउन गण्डकी प्रदेश सरकारलाइ आग्रह गर्ने निर्णय भएको छ ।
महासंघको भर्चुअल (अनलाइन) बैठकबाट निर्णय भए अनुसार प्रदेश सरकारलाई राहतका कार्यक्रम ल्याउन आग्रह गरिएको महासंघले जनाएको छ ।
बैठकबाट लकडाउन अवधिबाट प्रभावित पत्रकारहरु लागि पारिश्रमिक भुक्तानीमा कुनै अप्ठ्यारो नगर्न मिडिया सञ्चालकहरुलाई आग्रह गरिएको छ ।
वर्तमान अवस्थामा समाचार सङ्कलन र प्रशारणमा पत्रकारलाई कुनै कठिनाई भए सम्बन्धित जिल्ला शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बैठकले ११ जिल्लाको सञ्चारमाध्यम र पत्रकारको अवस्थाका बारेमा विश्लेषण गर्दै सबै पत्रकारहरुलाई धैर्य र सुरक्षित तवरले समाचार सङ्कलन गर्न आग्रह गरेको छ ।
समितिले कोरोनाको नियन्त्रणमा पत्रकारहरुको विशेष भूमिका हुने हुँदा सत्य, तथ्य र विश्वसनीय समाचार मात्र प्रवाह गर्न समेत अपिल गरेको छ ।
उक्त बैठकले पत्रकारका निम्ति आवश्यक सुरक्षा उपकरण उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गर्दै कोरोनाको नियन्त्रणमा अहोरात्र खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुलाई समेत आभार प्रकट गरेको छ ।




















