बागलुङ- कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।
‘उहाँको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौँ’, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भन्नुभयो- ‘अर्को रिर्पोट पनि नेगेटिभ आए डिस्चार्ज गर्छौँ ।’
महिला १५ दिनदेखि अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पोखरेलले बताउनुभयो । हाल उनलाई पुरानै उच्च रक्तचाप र दमको मात्र औषधि चलाइएको छ ।
उनीसँगै बेल्जियमबाट फर्किएकी अर्की सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको भने चौथो जाँचको रिपोर्ट भने पोजेटिभ आएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ ।


