कोरोना भाइरसको सन्त्रासका कारण यतिबेला नेपालका अधिकांश जनता घरभित्रै नजरबन्द हुनुपरेको छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेपछि विरलै घरमा बस्न पाएका कलाकारहरु पनि अहिले परिवारसँग समय विताइरहेका छन् । कति नजानेको खानेकुरा पकाउन सिकिरहेका छन् भने कति गाउँ फर्केर खेतीपातीमा रमाइरहेका छन् ।
अभिनेता आर्यन सिग्देल पनि अहिले आफ्नो जन्मघरमा छन् । लामो समयदेखि काठमाडौंको लाजिम्पाटमा बस्दै आएका उनी श्रीमती र काखे छोरासहित लकडाउनपछि थानकोट फर्किएका हुन् । त्यहाँ उनको आमा-बुबा बस्ने गर्दछन् । उनी अब स्थिति सामान्य भएपछि मात्र काठमाडौं फर्किने सोचमा छन् । लकडाउनको समय उनले खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् ।
गत वर्ष ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ फिल्ममार्फत् दर्शकसँग साक्षात्कार गरेका उनले बिहीवार आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर साझेदार गरेका छन् । उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ । छेवैमा उनकी आमा छिन् । अभिनेता आर्यनले खेतमा काम गर्दै गरेको तस्विरलाई उनका प्रशंसकले प्रेरणादायक भनेका छन् ।
https://www.instagram.com/p/B_Bv2Rlgr32/?utm_source=ig_web_copy_link


