काठमाडौं– विश्वभरी गर्मी बढेपछि कोरोना भाइरसको असर पनि कम हुन्छ भन्ने चर्चा थियो । तर यो कुरा त्यति प्रभावकारी देखिएको छैन । प्रारम्भमा कोरोना भाइरस पहिलो ९० दिनसम्म सबैभन्दा धेरै चिसो देशहरुमा फैलिएको थियो । तर पछिल्ला केहि दिनदेखि यसको ट्रेण्डमा केहि परिवर्तन देखिएको छ । कोरोना भाइरस अहिले चिसो देशहरुको साथसाथै अब तापक्रम धेरै भएका देशहरुमा पनि दुई गुणाले बढेको छ ।
तापक्रम २० डिग्री देखि ४० डिग्रीसम्म भएका देशहरु ल्याटिन अमेरिका, अफ्रीका र दक्षिण पश्चिम र दक्षिण पूर्व एशियाका मुलुकहरुमा यो भाइरसको संक्रमण धेरै बढेको छ । ल्याटिन अमेरिकी देशहरुमा अहिले कोरोना भाइरस तिव्रताका साथ फैलिरहेको छ । अहिले ब्राजीलमा २१ हजार ०४२ जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण भएको छ भने ११ सय ४४ जनाको यसका कारण मृत्यु भएको छ ।
त्यहाँ हरेक दिन यसको संक्रमण बढ्दै गएको छ । त्यस्तै इक्वाडोरमा पनि कोरोना भाइरसबाट सक्रमितको संख्या ७ हजार २ सय ५७ भएको छ भने ३ सय १५ जनाको यसका कारण ज्यान गैसकेको छ । ल्याटिन अमेरिकाका धेरै देशहरुमा अहिले दिउँसोको तापक्रम अधिकतम ३३ डिग्री र रातमा २३ डिग्री मापन गरिएको छ । अफ्रीका महादीपका प्रायः देशहरुमा अप्रिलको पहिलो दुई हप्तामा तापक्रम १७ डिग्री देखि ४५ डिग्रीसम्म मापन गरिएको छ ।
संसारको अन्य महादीपको तुलनामा अफ्रीका महादीपमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म सबैभन्दा कम भएको पाइन्छ । तर त्यहाँ पनि विस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । दक्षिण अफ्रीकामा संक्रमितको संख्या २ हजार २८ पुगेको छ । सबैभन्दा धेरै २७५ मृत्यु अल्जेरियामा भएको छ ।
नाइजरमा सबैभन्दा धेरै संक्रमित भएका छन् । त्यहाँ प्रत्येक तीन दिनमा संक्रमितको संख्या दुई गुणाले बढेको छ ।
दक्षिण पूर्व र दक्षिण पश्चिम एशियाली देशहरुमा अन्य एशियाली देशको तुलनामा गर्मी धेरै हुन्छ । ती देशहरुमा अहिले २० देखि ४१ डिग्रीसम्म तापक्रम छ तर इजराइलमा कोरोना भाइरसबाट संक्रमण हुनको संख्या १० हजार ८ सय ७८ रहेको छ । त्यस्तै यस भाइरसका कारण इन्डोनेशियामा ३ सय ७३ जनाको मृत्यु भैसकेको छ । भारत र बंगलादेशमा कोरोना भाइरसको विरामीहरुको संख्या सबै भन्दा तिव्र रुपमा बढिरहेको छ ।
बंगलादेशमा प्रत्यक दुई दिनमा दुई गुणाले बढेको छ भने भारतमा प्रत्येक चार दिनमा दुई गुणाले बढिरहेको छ । चीनमा गरिएको सर्वेक्षणमा गर्मी मौसममा कोरोना भाइरस नष्ट हुन्छ भन्ने बताइएको छ । कोरोना भाइरस चीनबाट शुरु भएर इटाली, स्पेन, अमेरिका जस्ता चीसो देशमा फैलिँदा मानिसहरुले यो भाइरस तातो जलवायु भएको देशमा कम फैलिन्छ भन्ने सोचेका थिए । तर यो सोचाई गलत प्रमाणित हुन थालेको छ । चीनको बेइहाङ र तसिङहुआ यूनिर्भसिटीले पनि आफ्नो सर्वेक्षणमा गर्मीमा कोरोना भाइरस फैलिन कम हुन्छ भन्ने बताएका थिए ।
वास्तविकता
डब्ल्यूएचओले अप्रिल ५ मा जारी गरेको एउटा वक्तव्यमा गर्मी मौसमले पनि कोरोना भाइरसलाई नष्ट गर्न सक्दैन भनेको छ । एजेन्सीले यस प्रकारको हल्लाको पछि नलाग्न भनेको छ । जति सुकै चर्को घाम भएता पनि, गर्मी मौसम भएता पनि कोरोना भाइरस जो कोहिलाई पनि हुन सक्छ । ब्रिटिश वैज्ञानिक सारा जार्भिस भन्छिन् – ‘गर्मीमा कोरोना भाइरस नष्ट हुन्छ भन्ने कुरा वाहियात हो ।’ अहिले दिइएका सबै तथ्यांक अप्रिल महिनाको मात्र रहेको छ ।




















